राजनीति

प्रधानमन्त्री ओली र नेता नेपालबीच कुराकानी



काठमाडौँ, १८ असार । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ ।

केन्द्रीय कमिटी बैठक बस्ने पूर्वसन्ध्यामा अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी भएको हो । बिहीबार बेलुकी ओली र नेपालबीच कुराकानी भएको बताइएको छ । दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर अध्यक्ष ओलीले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । तर उक्त बैठकमा सहभागी नहुने निर्णय नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको छ ।

बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको र आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको नेताहरूले जानकारी दिनुभयो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको बताउनुभयो । ‘अध्यक्ष ओलीले पार्टी एकताका लागि प्रयास जारी राख्नुभएको हो,’ उहाँले भन्नुभयो । तामाङका अनुसार आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्छ ।