राजनीति

एमाले एकता पक्षमा नेपाल समूह लचिलो



काठमाडौँ, १८ असार । सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको बैठकले विवाद निरूपणका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

नेपाल पक्षीय स्थायी कमिटीको बिहीबार बुद्धनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसबाट नेपाल समूह विवाद मिलाउने मामिलामा लचिलो देखिएको संकेत मिलेको छ । बैठकमा पार्टी विवाद र समाधानका विषयमा पाँच घण्टाभन्दा बढी छलफल भयो । ओली पक्षले विवाद मिलाउन केही लचकता देखाएका कारण आफूहरूले पनि वार्ता र छलफलमा जोड दिने निर्णय गरेको बैठकमा सहभागी नेताले बताए । पार्टी एकता पक्षमा आफूहरू इमानदार भए पनि ओली पक्ष खासै इमानदार नदेखिएको विषयमा पनि छलफल भयो ।

बैठकमा सदस्यहरूले ओली–नेपालबीच संवाद हुनुपर्ने र त्यसपछि पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधानअनुसार स्थायी कमिटी बैठक डाकेरमात्रै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्नेमा जोड दिए । ‘महाधिवेशन आयोजक कमिटी अवैध थियो । त्यो खारेज भयो ठीक छ । त्यसपछिका सबै गतिविधि र निर्णयहरू खारेज भए । त्यो पनि ठीकै छ । तर केन्द्रीय कमिटी बैठक बोलाउने विषय त नवौं महाधिवेशनको विधानअनुसार स्थायी कमिटी बैठकले हो । अहिलेको अवैध कमिटीले बोलाएको बैठकमा आफूहरू जान अनुपयुक्त हुन्छ । यसले विधि र विधानको झन् खिल्ली उडाउँछ’, वरिष्ठ नेता नेपाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो ।

बैठकले पार्टी एकताका लागि वार्ता र छलफलमा जोड दिने बताए पनि ओली पक्षले शुक्रबार बोलाएको बैठकमा भने नजाने निर्णय गरेको छ । बैठकपछि उपाध्यक्ष भीम रावलले ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक अवैध रहेकाले नजाने निर्णय गरेको बताए । ‘पार्टीको विधानविपरीत गठित दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन । वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ’, रावलले भने ।  यो समाचारनागरिक दैनिकमा छ ।