काठमाडौँ, ३ साउन । नेपालले आफ्नै रेल ल्याएको करिब १० महिनादेखि थन्किएको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ आज परीक्षण गरिँदैछ ।
नेपालको एक मात्र रेलमार्ग जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि रेल्वे ट्रयाकमा आजबाट ट्रयाक स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो । यो परीक्षण भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा गरिने भट्टराईको भनाइ छ । उक्त रेल प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्ने बताइएको छ । त्यसपछि पुनः जनकपुरबाट प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेल जयनगर नै फर्किने छ ।
आइतबार भने रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सर्वसाधारणका सूचना गर्नुका साथै रेलवे ट्य्राकको सीमासम्म सुरक्षाकर्मी परिचालन गरिएको रेलवे कम्पनीले जनाएको छ । गत माघबाटै जनकपुर–जयनगर रेल्वे सञ्चालनमा ल्याउने भनिए पनि विविध कारणले सो कार्यमा ढिलाइ भएको कम्पनीको भनाइ छ । भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको रेलवे लाइन ३५ किलोमिटर रहेको छ ।
भारतसँग नेपालले गत असोजमा ५-५ डिब्बाका दुइ रेल भित्र्याएको थियो । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग दुई सेट रेल खरिद गरेको थियो । तर सञ्चालन नहुँदा ती रेल ट्य्राकमै थन्किएका थिए । नियमित रेल चलेपछि नेपाल(भारत यात्रु परिवहनमा धेरै सहज हुने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्