Banner News

सरकारसँग जनताको हितमा काम गर्ने एजेण्डा छैन : प्रवक्ता ज्ञवाली



गुल्मी, १० साउन । नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको दावी गर्नुभयो ।

प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले उहाँले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको स्पष्ट पार्नुभयो ।

जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट हटाई शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैरराजनीतिक भएको उल्लेख गर्दै उहाँले अदालतको फैसलाले राज्यका आधारभूत संरचनाहरुलाई पनि खलबल्ल्याएको जिकिर गर्नुभयो । राजनीतिक संकटलाई राजनीतिक दलबाटै समाधान खोजिनुपर्ने उहाँको भनाइ छ ।

पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव नेपाल पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिइएको उल्लेख गर्दै नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई ढालेर कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको बताउनुभयो ।