काठमाडौँ, ९ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले अधिवेशन गर्छु भन्ने तर गर्ने वातावरण नबनाएको भन्दै आलोचना गर्नुभएको छ ।
पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउन पुग्नुभएका नेता पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका रहेको बताउनुभयो । भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने गरी ल्याइएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भदौ १८ गते वडाको चुनावको तिथि तय गरिएको छ । सभापतिजीले चुनाव शुरु हुन्छ, हुन्छ भन्नुभएको छ तर पार्टी मातहतका संयन्त्रबाट त्यो गाँठो फुकेको छैन । क्रियाशील सदस्यता टुंगो नलागी चुनाव कसरी हुन्छ ?’
पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याएको सदस्यता विवरण कम्प्युटरमा इन्ट्री गरेर सबैले हेर्न मिल्ने बनाउनुपर्ने उल्लेख गर्दै क्रियाशील सदस्यता टुंगो लगाउन पार्टीले बनाएको समितिको मापदण्डको आधारमा काम गर्ने हो भने १/२ दिनमा टुंगो लाग्ने बताउनुभायो । पछिल्लो समय निर्धारित कार्यतालिकाअनुसार अधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यता विवरण सार्वजनिक हुनुपर्छ, सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले हेर्न पाउनुपर्छ । केही कमजोरी त्रुटि भए सच्याउनुपर्छ । केन्द्रीय नेतृत्व इमान्दार भएर पार्टीलाई बचाउने काममा लागौं, विधानको परिधीभित्र अधिवेशनको सुरुवात गर्न सक्छौं ।’










प्रतिक्रिया दिनुहोस्