राजनीति

राष्ट्रिय युवा संघद्वारा ‘बृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम’ समापन



काठमाडौँ, १० भदौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बृहत राष्ट्रिय वृक्षारोपण – २०७८ समापन गरेको छ ।

‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ साउन १८ गते ललितपुरको गोदावारी कोटडाँडामा संघका इन्चार्ज, एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै देशव्यापी रुपमा उक्त अभियान सञ्चालन गरेको थियो । संघको आयोजनामा आज कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभार हाइटमा दुई सयभन्दा बढी विरुवाहरुको वृक्षारोपण गरी समापन गरेको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरण पौडेलले देशको विकास र समृद्धिको साथ साथै समाजिक सेवाको काममा संघले ऐतिहासिक कामहरु गरेको दावी गर्नुभयो । वृक्षारोपण गरी प्रकृतिको संरक्षण, रक्तदान, विपदमा परेका नागरिकको रक्षाको निम्ती राहत तथा नगद सहयोग गर्ने मुलुककै सवैभन्दा व्यवस्थित र चलायमान संगठन राष्ट्रिय युवा संघ रहेको दावी गर्दै संघले अब नविनता, सिर्जनशिलता र गतिशिलताका कार्यहरु गर्ने उद्घोष गर्नुभयो । बोलेर नभई नतिजामा देखाउने उद्घोष गर्दै अध्यक्ष पौडेलले संघका कार्यकर्ता सामाजिक सेवा तथा मुलुकको प्रगति तथा रक्षाको लागि जस्तोसुकै समयमा पनि हाजिर हुन तयार हुने धारणा राख्नुभयो ।

पछिल्लो समय एमालेमा केही राजनीतिक समस्या भएता पनि संघ भित्र कुनै समस्या नरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले संघमा उमेर हद लाग्ने भएकाले २०७५ जेठ २ फर्कने अवस्था नभएको बताउनुभयो । आफ्नो गतिविधि तथा जिम्मेवारीलाई अगाडी बढाउन पार्टीको सामान्य आन्तरिक विवादले समस्या नआउने उल्लेख गर्दैै अध्यक्ष पौडेलले संघले दिएको जिम्मेवारीलाई शतप्रतिशत पुरा गर्ने गरी निरन्तर अगाडी बढ्न निर्देशन समेत दिनुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सुद्धिकरण अभियान चलाउनु भएको उल्लेख गर्दै अध्यक्ष पौडेलले माधव कुमार नेपाल नेपाली कम्युनिष्ट आन्दोलनका गद्धारको रुपमा स्थापित भएको बताउनुभयो । माधव समूहका नेता तथा कार्यकर्ताहरु पनि एमालेमा नै फर्कने क्रममा रहेको जानकारी गराउँदै अध्यक्ष पौडेलले फर्किएका नेता तथा कार्यकर्तालाई योग्यता, क्षमता तथा दक्षताका आधारमा उचित जिम्मेवारी दिने समेत बताउनुभयो । एमालेमा र्फकन चाहने माधव समूहका नेताहरुसँग नियमित रुपमा वार्ताहरु भइरहेको समेत जानकारी गराउनुभयो ।

केही जिल्ला बाहेक देशका सम्पूर्ण जिल्ला तथा स्थानीय तहमा समेत उक्त अभियान सञ्चालन गरी आजसम्म ६ लाख दुई सय ६५ विरुवाहरुको रोपिएको संघका महासचिव रमेश आचार्यले जानकारी दिनुभयो । हालसम्म रोपिएका विरुवाहरुको संरक्षण उपभोक्ता समिति, संघको तत् कमिटी तथा अन्य सामुदायीक समूहहरुले संरक्षण तथा सम्वद्र्धन गर्ने जानकारी दिँदै महासचिव आचार्यले अब संघले ‘एक युवा संघको कार्यकर्ता, एक वृक्षारोपण’ अभियान चलाउने बताउनुभयो ।

असाहाय बाल आश्रमलाई खाद्यान्न सहयोग

संघका अध्यक्ष पौडेल, सचिव सीता सुवेदीलगायतका संघका नेताहरुको जन्मदिनको अवसरमा कीर्तिपुर स्थित असाहाय बाल आश्रममा रहेका वालवालिकाको लागि खाद्यान्न सहयोग गरेको छ । संघको तर्फबाट आज १० बोरा चामल तथा अन्य खाद्य सामाग्री हस्तान्तरण गरिएको छ । त्यस्तै केही दिनमा पुनः खाद्यान्न सहयोग गर्ने अध्यक्ष पौडेलले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा संघका उपाध्यक्ष, संगठन विभाग प्रमुख तथा युथफोर्स प्रमुख क्षितिज थेवे, उपाध्यक्ष तथा १ नं. प्रदेशको इन्चार्ज अञ्जना अधिकारी, उपाध्यक्ष तथा युथफोर्स उपप्रमुख पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा महिला विभाग प्रमुख उर्मिला सुनुवार, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अशोक चौलागाई, उपाध्यक्ष तथा वाग्मती प्रदेशका इन्चार्ज अमित लामा, उपमहासचिव रामजी सापकोटा लगायतका संघको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।