राजनीति

पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई मेयर शाक्यको आग्रह



काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आग्रह गरेका छन ।

आज मेयर शाक्यले काठमाडौँको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै महानगरपालिका भित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भए पनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो गर्दै उक्त अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आग्रह गरेका छन ।

उनले भने, ‘कम्तिमा पनि हरेक वडामा एउटा पार्क बनाउनुपर्छ भनेर नीति बनाएका छौं । सार्वजनिक जग्गा धेरै छन् । हिजो भएका पार्कहरुलाई अपग्रेड गर्ने, जहाँ पार्क छैनन् नभएका ठाउँमा नयाँ पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेका छौ, ‘स्थानीयको सहयोग भएन भने काम गर्न सकिँदैन । जहाँ स्थानीयबासीहरुले सहयोग गर्छ, त्यहाँ स्वभाविक रुपमा काम गर्न सजिलो हुन्छ । जहाँ स्थानीयको सहयोग हुँदैन, अवरोध हुन्छ, त्यहाँ काम गर्न गाह्रो हुन्छ ।’