राजनीति

माथिल्लो तामाकोशीले बिहीबारदेखि पूरै क्षमतामा बिजुली उत्पादन गर्ने



काठमाडौँ, २२ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ६ वटै युनिटबाट ४५६ मेगावाट बिजुली आगामी बिहीबारदेखि व्यावसायिक उत्पादन गर्ने भएको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट अहिले पाँचवटा युनिटबाट ३६० मेगावाट बिजुली व्यावसायिक उत्पादन भइरहेको छ। अपर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले आगामी भदौं २४ गतेदेखि आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन गर्ने बताए।

‘६ वटै युनिटको परीक्षण सम्पन्न भइसक्यो,’ उनले भने, ‘आगामी बिहीबारदेखि ६ वटै युनिटबाट पूर्ण क्षमतामा व्यावसायिक उत्पादन हुनेछ।’ आयोजनाका अनुसार अहिले आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन हुँदै आइरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आयोजनाको सम्पूर्ण टेस्टिङ तथा कमिसनिङको काम सम्पन्न भएकाले अब पूर्ण क्षमतामा व्यावसायिक बिजुली उत्पादन हुने बताए।

‘अब पीपीए सम्झौताअनुसार आयोजनाले उत्पादन गरेको बिजुलीको पैसा प्राधिकरणले भुक्तानी गर्नेछ,’ उनले भने, ‘परीक्षण प्रसारणको क्रममा उत्पादन भएको बिजुलीको पैसा भने प्रबद्र्धक कम्पनीले पाउँदैनन् ।’ याे समाचार नागरिक दैनिकमा छ ।