राजनीति

अर्थमन्त्री शर्माले विश्व बैंकसँग मागे थप सहयोग



काठमाडौँ, ४ असोज । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता रहेको बताएका छन् ।

आज मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिदै थप सहयोग आवश्यक रहेको बताएका हुन् ।

‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ, यसका लागि धन्यवाद दिन चाहन्छु ।’

मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताएका हुन् । भेटमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे ।