Banner News

सरकारले रत्नपार्कमा बसेर पदक तथा विभूषण वितरण गरेकोजस्तो छ: अध्यक्ष ओली



काठमाडौँ, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो विरोध नहोस् भनेर जथाभाबी पदक तथा विभूषण वितरण गरेको आरोप लगाएका छन् ।

आज श्वेतशार्दुल नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो सरकारले त्यसैगरी पदक वितरण गरेको भए खपिनसक्नु हुने टिप्पणी गरे ।

उनले भने, ‘यति धेरै पदक कहिल्यै पनि वितरण गरेको थिएन । रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो छ ह्वार ह्वार, म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए..ओ हो.. के हुन्थ्यो ? बुद्धिजीवी, नागरिक समाजले के भन्थे’, तर अहिलेको सरकारले यसरी वितरण गर्दा पनि सब चुपचाप र शान्त रहेको टिप्पणी गरे ।

उनले राजनीतिमा नैराश्य प्रदान काम सरकारले गरेको भन्दै निरङ्कुश राजतन्त्र लडेर मुलुकलाई संघीय गणतन्त्रसम्म ल्याए पनि पुनः अहिले निराशा छाउने काम सरकारले गरिरहेको बताए ।

अध्यक्ष ओलीले काँग्रेसभित्र आठ सालबाट एउटा व्यक्तिले दुईटा पद हुनुहुँदैन भनेर बीपीले आवाज उठाए पनि पछि उहाँ नै पार्टी सभापति र प्रधानमन्त्री हुनुभएको भन्दै राजनीतिका तर्क कहिले यता र कहिले उता फर्कन नहुने बताए ।