Banner News

संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागे : अध्यक्ष ओली



काठमाडौँ, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्यम चुप लागेर बसेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई सञ्चार माध्यमले आफ्नो सरकारलाई जति खबरदारी नगरेको बताए । ‘संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखियो’ उनले भने । उनले आफ्नो सरकारलाई सञ्चार माध्यमले खबरदारी गरेर धेरै सहयोग गरेको भन्दै ओलीले त्यसका लागि सम्पादकहरुलाई धन्यवाद दिए । ‘सरकारलाई खबरदारी गरेर भने लापरवाहजस्तो हुँदो रहेछ, जस्तो अहिलेको सरकार’ उनले भने, ‘अहिलेको सरकारलाई खबरदारी पुगेन कि जस्तो लाग्छ, संविधान कानुनको मतलब छैन ।’

ओलीले सञ्चार माध्यमसँग आफ्नो उद्देश्य मिल्ने भन्दै कहिँ समस्या भए समाधान गर्नुपर्ने बताए । ‘प्रेस र मेरो उद्देश्य समान छ- लोकतन्त्र सुदृढीकरण । कहिँ खटपट छ भने अब त्यो सकिनुपर्छ’ उनले भने ।