Banner News

विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यास: प्रधानमन्त्री देउवा



काठमााडौँ, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउनुभएको छ ।

जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताएका छन् । तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्नुभएको छ ।

विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बर्द्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जितिया पर्व मनाउने सबैलाई एकताबद्ध भई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गर्नुभयो । यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।