Banner News

अख्तियारद्वारा मुख्यमन्त्री कार्यालयको कागजात नियन्त्रणमा : सरकारलाई बद्नाम गर्न खोजेको आरोप



जनकपुरधाम, १३ असोज । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साइकल वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ ।

बुधबार बेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको खबर सार्वजनिक भएको थियो । त्यसको केहीघण्टामा नै अख्तियारको केन्द्रीय कार्यालय र बर्दिबासस्थित कार्यालयको टोलीले जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मारेको थियो ।

बुधबार दिउँसो आएको टोलीले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरिएकोसम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको हो । साइकल वितरणमा अनियमितता भएको उजुरी परेपछि छानबिनका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको थियो ।

कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिनुभयो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल किनेर २६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि भनी साइकल दिइएको थियो । प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको आक्रोस व्यक्त गर्नुभयो । अनियमितताको समाचार भ्रमक भएको दाबी गर्दै मुख्यमन्त्री राउतले भन्नुभयो, ‘त्यसको २र४ घण्टा वित्न नपाउँदै अख्तियारको टोली छापामारको शैलीमा आउँछ, मानौं कि प्रमाणहरु लोप भइरहेको छ, कसैले नाश गर्न लागेको छ । त्यो शैलीमा आएर छापा मार्छ र तरुन्तै मिडियामा आउँछ ।’