समाचार

खुकुरी प्रहारबाट एकको मृत्यु, एक घाइते



बुटवल, १८ असोज । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार रुपन्देही जिल्लाको शुद्धोधन-३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमारको मृत्यु भएको हो । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति रवि सिंहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते चमारको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको हो ।

रविले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।