राजनीति

प्रचण्डको मुटुमा ढ्याङ्ग्रो बज्यो: नेता बस्नेत



भक्तपुर, १८ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको मनमा आतंकको बम पड्किएको दावी गर्नुभएको छ ।

आज अखिल नेपाल महिला संघ सूर्यविनायक ८ नं वडा संगठन कमिटीद्वारा आयोजित वडा नं ८ (सिपाडोल) स्तरीय महिला भेला तथा वडा समिति गठन कार्यक्रममा बोल्दै नेता बस्नेतले देशभर एमाले तथा एमालेका अध्यक्ष केपी ओलीमय हुँदै गएको उल्लेख गर्दै उक्त कुराले प्रचण्डको मनमा ठूलो आतंक सिर्जना भएको बताउनुभयो । देशभर एमालेमय भएको प्रचण्डले जानकारी पाएसँगै एमाले आफ्नो प्रमुख दुष्मनको रुपमा घोषणा गर्दै प्रचण्डले एमालेको राम्रो कामलाई समेत नराम्रो भनि व्यापक प्रचार गर्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

सोही कुरालाई लक्षित गर्दै नेता बस्नेतले एमालेको शान्तिपूर्ण गतिविधिबाट प्रचण्डको मनमा बन्दुक पड्कीएको बताउनुभयो । शान्तिपूर्ण अवस्थामा आउँदा प्रचण्डले ठूलो भ्रष्टाचार गरेको आरोप लगाउँदै उक्त कालो धनलाई सेतो बनाउने प्रयासमा लागेको समेत बताउनुभयो । घाइते तथा सहिदको परिवार समेत एमालेमा समाहित भइसकेका स्मरण गराउँदै नेता बस्नेतले एमालेसँग लड्ने सपना नदेख्न प्रचण्डलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेले शान्तिपूर्ण तथा वैधानिक बाटोलाई अंगालेको देखेर प्रचण्डको मुटुमा ढ्याङ्ग्रो बज्यो । केही दिन अगाडी एक कार्यक्रममा बोल्दै प्रचण्डले अबको शत्रु एमाले भएको बताउनुभयो । देशभर ओलीको आतंक छ, युवा संघको आतंक छ । त्यही भएर एमालेले गरेको राम्रो कामलाई पनि नराम्रो भनेर प्रचार गर्न प्रचण्डले आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एमालेको शान्तिपूर्ण गतिविधिबाट प्रचण्डको मनमा बन्दुक पड्कीएको छ । यही कुराले प्रचण्डमा आतंक फैलिएको छ ।’

पाँच दलीय वर्तमान गठबन्धनको सरकार नभई ६ दलीय गठबन्धन भएको उल्लेख गर्दै नेता बस्नेतले सेटिङ्को भरमा प्रधानन्यायाधिस समेत जोडिएको बताउनुभयो । प्रधानन्यायाधिसको कोटामा समेत मन्त्रीको भाग लगाउनु भनेको नै केपी ओलीलाई हटाउन अदालतदेखी निर्वाचन आयोगमा समेत सेटिङ् गरेको प्रष्ट भएको बताउनुभयो । परमादेशको सरकारको आयु जम्मा अब १३/१४ महिनामात्र रहेको उल्लेख गर्दै नेता बस्नेतले ओली नेतृत्वको सरकारले गरेको राम्रा कामहरुलाई खारेज गरेर ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । गठबन्धनको सरकारले खारेज गरेका ओली नेतृत्वको सरकार गरेका राम्रा कामहरुलाई पुनः १४ महिनपछि निर्माण कार्य शुरु हुने समेत बताउनुभयो ।