Banner News

एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ, करोडौं रकम ठगीको उजुरी



काठमाडौँ, १९ असोज । करोडौं ठगीको आरोपमा नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

तामाङलाई एमालेले संविधानसभा सदस्य नै बनाएको थियो । संसदको अर्थसमिति सदस्य मनोनित भएका तामाङले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेका थिए । इञ्जिनियरिङ पृष्ठभूमिका तामाङले उनले घरजग्गा कारोबारदेखि पूँजीबजार, बैंक र सहकारीसम्मका क्षेत्रमा हात हालेका थिए । २०५७ सालमा सिभिल क्रेडिट एण्ड सहकारी संस्था खोलेका तामाङको आर्थिक क्षेत्रमा संलग्नता दोस्रो जनआन्दोलनपछि अस्वाभाविक ढंगले बढेको थियो ।

सिभिल ग्रुपभित्र विभिन्न ९ वटा कम्पनी छन् । सिभिल होम, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल मार्केट, सिभिल बैंक, सिभिल इस्टेट, सिभिल इन्टरनेशनल कन्सल्ट्यान्ट, सिभिल ट्रेडिङ, सिभिल बिजनेश कम्प्लेक्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी लिमिटेड इच्छाराज तामाङकै नेतृत्वमा छ ।

सिभिल ग्रुपका विभिन्न संस्था र कम्पनीमा बचत रकम जम्मा गरेका ३२ सय सर्वसाधारणको ७ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएर उनी फरार रहेका थिए । उनले सबैभन्दा धेरै ठगी सिभिल सहकारीबाटै गरेका थिए । उनले सिभिल ग्रुपअन्तर्गतकै सिभिल होम्स प्रालिलाई सहकारीमार्फत ८ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपैयाँ ३७ पैसाभन्दा बढी रकम प्रवाह गरेका थिए । सहकारीका बचतकर्तालाई उनले बाउन्स चेक दिँदै झुलाउने गरेका थिए ।