काठमाडौँ, २२ असोज । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिए ।
सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिए ।
त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेशमन्त्री जयशंकरसँग कुरा राखेको उनले बताए । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उनले जानकारी दिए ।
सो भेटका क्रममा यसअघि भएको सहमति बमोजिम नेपाललाई कोरोना विरुद्धको कोभिसिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेशमन्त्री जयशंकरले दिनुभएको पनि डा.महतले बताए । उक्त द्धिपक्षीय भेटमा नेपालका तर्फबाट डा.महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट विदेशमन्त्री जयशंकरसहित भारतीय जनता पार्टीका नेताद्वय विजय चौथाइवाले र आश्विन जोहर रहेका थिए ।
भारतीय जनता पार्टीको आमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा.महत नेतृत्वको सो टोली बिहीबार भारत पुगेको हो । रासस










प्रतिक्रिया दिनुहोस्