राजनीति

संसदले काम गर्न सकेन, चुनावमा जानुपर्छ : नेता सिंह



काठमाडौँ, २४ असोज । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसदले संसदीय मुल्य मान्यताअनुरुप काम गर्न नसकेको स्वीकार गर्दै चुनावमा जानुपर्ने बताउनु भएको छ । उहाँले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको हो ।

कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्न् नसकेको र संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएको भन्दै फ्रेस इलेक्सनमा जानुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले यथार्थ नबुझेर म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मूल्य मान्यताविपरीत संविधानको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकत्नत्रका लागि गम्भीर चुनौती भएको उहाँको भनाई छ । सिंहले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोगले जनतामा कस्तो प्रभाव पार्‍यो भन्ने कुरा नबिर्सिनसमेत आग्रह गर्नुभयो । देउवा सरकारले यतिका दिन लगाएर पूर्णता पाएपछि उठेका गम्भीर प्रश्नलाई ख्याल ख्याल सोच्न नहुनेसमेत सिंहले बताउनु भयो ।

नेता सिंहले अवसर पाएर काम गर्न नसक्नेहरुको गुनगान गाएर आफ्नो स्वार्थ पूरा गर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बनेको भन्दै गलत कुरालाई आफूले सही भन्न नसकने बताउनु भयो ।