Banner News

सरकार र अदालतबीच ‘बार्टर’ सिस्टम भयोः अध्यक्ष ओली



झापा, २८ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र सरकारबीच बार्टर सिस्टम भएको भन्दै आक्रोस जनाउनुभएको छ ।

गृह जिल्ला झापामा आज आयोजित दशैं, तिहार, नेपाल सम्वत्, छठलगायतका नेपालीहरुको चाडवर्पको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अदालतले आफ्नो नेतृत्वको सरकारले विघटन गरेको संसदलाई व्यूँताई परमादेश जारी गर्दा सरकारसँग बार्टर गरेको आरोप लगाउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटनलाई अस्वीकार गरी सरकारसँग मन्त्री तथा राजदुतहरुको बार्गेनिङ् गरी वर्तमान व्यवस्थालाई नै ध्वस्त बनाउने खेलमाम लागेको आरोप लगाउँदै अध्यक्ष ओलीले सरकार र अदालत नेपाली जनता र आवश्यकता भन्दा पनि लेनादेनामा सिमित रहेको बताउनुभयो ।

हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उहाँले सट्टापट्टा भएको प्रष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार कसरी बनेको रहेछ भनेको त बार्टर सिस्टममा पो रहेछ । पैसाको कारोवार गर्ने बार्टर सिस्टम जस्तै भएछ । पैसाको कारोवार भयो वा भएन थाहा भएन । तर बार्टर सिस्टम चाँही देखियो । एउटा दिने अर्को लिने सिस्टमबाट सरकार र अदालत चलेको देखियो । सट्टापट्टा भएको स्पष्टै देखियो । अरु केके भएको थियो, पछि देखिएला ।’

धर्तिमा नै पहिलो पटक परमादेशबाट सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले संविधानको कुनै पनि धारा उपधारमा उल्लेख नभएको कार्य गरेर मुलुकलाई अराजकता, अस्थिरता तथा द्वन्द्वमा लैजान खोजेको आरोप लगाउनुभयो । विजया दशमीले गैरसंवैधानिक तथा गैरलोकतान्त्रीक गतिविधि गर्नेलाई सतबुद्धि दिओस् भनि शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले देश र जनताको हितमा अडिग रहेर काम गर्नका लागि आग्रह गर्नुभयो ।