राजनीति

मदिराले मातेका युवाको आक्रमणबाट ७ प्रहरी घाइते



रुकुम, ३१ असोज । युवाको आक्रमणबाट रूकुम पश्चिममा प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते भएका छन् ।

मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको हो । मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । चार जना भागेका छन् ।