काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, वाग्मती र प्रदेश १ का एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौंमा आज पनि मौसममा बदली हुने छ । उपत्यकाको केही स्थानमा मात्रै पानी पर्न सक्ने सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, वाग्मती र प्रदेश १ का एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेकोले कृषिजन्य कार्य र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन विभागले आग्रह समेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्