राजनीति

‘गैरसांसदलाई प्रवेश निषेध गर’ भन्दै एमालेद्वारा संसद अवरोध



काठमाडौँ, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका हुन् ।

उनीहरूले ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संसदीय मर्यादा कायम गर’लगायत नारा लगाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आम जनजीविकाका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दै बैठकको कारबाही अघि बढाएका थिए ।

२३ साउन २०७८ बाट सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेका छन् । अन्यथा सदन चल्न नदिने उनीहरुको अडान छ । तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै एमालेलाई सम्झाउँदै आएका छन् ।