काठमाडौँ, १९ कार्तिक । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्गअन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ‘ढुंगा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिइने बताएका छन् ।
विभिन्न पर्वहरूका अवसरमा आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चन्द्रागिरि–चित्लाङ खण्डमा ढुंगाको व्यापार भइरहेको सुनिएकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम पुनः सञ्चालन गर्ने बताए । उनले भने, “चन्द्रागिरिको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म आफूले पहल र वातावरण निर्माण गर्न प्रयत्न गर्नेछु ।”
अर्थमन्त्री शर्माले काठमाडौंको सवारी चापलाई कम गर्न चन्द्रागिरि क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताए । उनले गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल संवत्को सुरुवात गर्ने शंखधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“११४२ वर्षअघि सुरु भएको शंखधरको अभियान अझै बाँकी छ । गरिबको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ,” उनले भने, “शंखधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ । यस अभियानमा लाग्न म सबैलाई आग्रह छु ।”
शंखधर साख्वालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिइएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्