राजनीति

पूर्वमन्त्री बस्नेतद्वारा दिव्यडाँडा खानेपानीको उद्घाटन



भक्तपुर, २ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले दिव्यडाँडा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ९ चामुथलीमा नवनिर्मित दिव्य डाँडा खानेपानी उपभोक्ता समितिको एक लाख लिटर क्षमताको पानी ट्याङ्कीको आज उद्घाटन गरिएको हो । उक्त आयोजना सञ्चालनमा आएसँगै तीन सय ५० घरपरिवार लाभान्वित भएका छन् ।

कार्यक्रममा सांसद बस्नेतको साथमा बागमती प्रदेश सभा सदस्य शशिजंग थापा, सूर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेत र वडा अध्यक्ष उपेन्द्र केसीको उपस्थितिमा समुद्घाटन सम्पन्न गरिएको हो । त्यस्तै सांसद बस्नेतले हिजो सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती, बाँसिडोल हुँदै सिपाडोल ९भक्तपुर ईट्टा टायल पर्खालसँगै० जाने बाटो ८ मिटर चौडा विस्तार र स्तरोन्नतीका लागि शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरमा जनताको आवश्यकता र चाहना अनुसारका आयोजनाहरु क्रमिक रुपमा निर्माण सम्पन्नताको चरणमा रहेको उल्लेख गर्नुभयो । जनताको अति आवश्यक पर्ने खानेपानी, सडक तथा स्थास्थ्य क्षेत्रमा नगरपालिकामा ऐतिहासिक कामहरु भएको उल्लेख गर्दै सांसद बस्नेतले इट्टा टायल पर्खालबाट सिपाडोलसम्म जाने सडकलाई ४५ लाख र उपभोक्ताबाट गरी करिव ५५ लाखको लागतमा सडक निर्माण शुरु गरिएको जानकारी गराउनुभयो । असमझदारीलाई समझदारीको साथ आयोजना निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले सडक निर्माणसँगै जनताको जीवनस्तरमा आमुल परिवर्तन भएको उल्लेख गर्नुभयो ।