काठमाडौँ, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएकी छन् ।
आज काठमाडौँको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरताको निम्ति, काठमाडौँ उपत्यकालाई नमुनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने बताइन् । उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदूषण कम गरी स्वच्छ र सफा काठमाडौँ बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको स्पष्ट पारिन् ।
राष्ट्रपति भण्डारीले काठमाडौँ उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इँटा भट्टाहरूमा पनि विद्युतीय ऊर्जाहरूको उपयोग गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन् । उनले सिमेन्ट उद्योगहरूमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताइन् ।










प्रतिक्रिया दिनुहोस्