समाचार

आजको मौसम



काठमाडौँ, १५ मंसिर । आजदेखि देशका धेरै भागमा चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । यी प्रदेशहरुका पहाडी तथा तराइका केही भू–भागहरुमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली  र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण हिजो साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ ।

 प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो बढ्ने विभागले जनाएको छ । शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ ।

यो मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत प्रभाव पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यसैबीच आज विहान ६ बजको काठमाडौँको तापक्रम ६.८ डिग्री सेल्सियस रहेको छ ।