काठमाडौँ, १६ मंसिर । नेपाली कांग्रेको १४औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ ।
आज एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदैछ । कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ । १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ । प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन् ।
प्रदेश अधिवेशन गर्नका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ । प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडु प्रदेश अधिवेशन आयोजक समिति संयोजक रहेका छन् ।
कांग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ । प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन् । कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्