चितवन, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उनले जल, जङ्गल र जमिनको सही ढङ्गले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताए । यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उनको भनाइ थियो ।
उनले भने “नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो ।” यी सबै जल, जमिन र जङ्गलसँगै सम्बन्धित रहेको भन्दै उहाँले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरुपमा आर्थिक बिकासका निम्ति मोडेल रहेको बताए । आफूले यसलाई चितवनको विकासको मोडेलको रुपमा लिएको उनको भनाइ थियो ।
सिबीच मोडलको रुपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पानि एउटा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । नेपालका धेरै ठाउँमा जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उहाँले सिङ्गापुरको सन्तोसा आइल्याण्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने उनको भनाइ थियो ।
विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उनले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताए । उनले भने, “भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ ।” जिल्लाको विकासका लागि ठूला–ठूला परियोजना सोचिएको भन्दै उनले भने, “शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् ।” यो विकासको पनि केन्द्र बिन्दु होस् भन्नका लागि सबैले सपना देखेको उनको भनाइ छ । रासस










प्रतिक्रिया दिनुहोस्