काठमाडौँ, २४ मंसिर । सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचारमध्ये एक हो। नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ। मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष बन्थ्यो। तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो । मिसनको बद्नाम भयो। सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको ४४ करोडको एपीसी (मिसनका लागि आवश्यक बन्दोबस्तीका समान)मा साढे २८ करोड बराबरको भ्रष्टाचार नै बद्नाम र बन्दको कारण हो ।
प्रहरीको भाषामा शान्ति मिसनलार्ई फ्रम्ड पुलिस युनिट (एफपीयू) भनिन्छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्कै निर्णयअनुसार एफपीयू बन्द भयो । तर, प्रहरी अधिकारी यसलाई स्वीकार गर्न आनाकानी गर्छन्, यथार्थ भए पनि। नेपाल प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँबर यसको समयअवधि नै सकिएकाले बन्द भएको बताउँछन् । तर, पूर्वअतिक्ति प्रहरी महानिरीक्षक (एआईजी) रमेश खरेल भ्रष्टाचारकै कारण एफपीयू मिसन बन्द भएको दाबी गर्छन् ।
एक महिनाअघि मात्रै सुडानबाट ८२ जना फर्किएपछि नेपालको टोली मिसनमा छैन । सुडानमा रहेका १८० जनाको टोली दुई पटक गरेर फर्किएको छ । हाइटी मिसन दुई वर्ष अघिदेखि नै बन्द छ । एक वर्षअघि यहाँका सबै प्रहरी फिर्ता आएका छन्। प्रहरी प्रवक्ता कुँवरले हाइटी र सुडान दुवै देशमा शान्ति मिसन बन्द भएकाले सुरक्षाकर्मी फर्किसकेको बताए । प्रहरी फर्किए तर, ती देशमा शान्ति स्थापना भइसकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्