Banner News

चुनाव जित्न मोर्चाबन्दी आवश्यक छैन, जनताको साथ एमालेलाई छ : अध्यक्ष ओली



भक्तपुर, २५ मंसिर । एमाले अध्यक्ष केपी ओलीले आगामी तीन वटै तहको निर्वाचनमा एमालेलाई जनताको साथ रहेकाले चुनाव जित्न कुनै पनि पार्टीसँग मोर्चावन्दी आवश्यक नभएको बताउनुभएको छ ।

शनिबारबाट भक्तपुरको गठ्ठाघरमा सुरु भएको एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदुढ र विस्तृत संगठन निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिँदै अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन निर्देशन दिनुभयो । जनताको चाहना अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन एमालेले अब सबै तहमा जाँदा त्यहाँको मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहना अनुसार पार्टीले काम गर्न सक्ने ओलीको भनाई थियो ।