राजनीति

‘तराईका सवै जिल्ला, एमालेको लालकिल्ला’ : नेता बस्नेत



बारा, ३ पौष । नेकपा एमालेको पोलिट्व्युरो सदस्य, प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले विगतमा एमालेको विरुद्धमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)लगायतका दलहरुले जनतालाई भ्रम फैलाउने कार्य गरे पनि जनताले उक्त भ्रमलाई तोड्दै तराईका सवै जिल्लाहरु एमालेमय भएको दावी गर्नुभयो ।

आज नेकपा एमाले विश्रामपुर गाँउपालिका अधिवेशनमा बोल्दै नेता बस्नेतले तराईका जिल्लामा राजनीतिक रुपमा एमालेविरुद्ध अनेक खालका भ्रमहरु फैलाए पनि आजको कार्यक्रम र पार्टी प्रवेशले उक्त भ्रहरुलाई शतप्रतिशत हटाएको दावी गर्नुभयो । एमालेले बर्चश्व कायम गरेको उक्त ठाउँ कांग्रेसका मेयरका प्रत्यासी उम्मेदवारदेखी माओवादी, जसपा, लोसपालगायतका दलहरुबाट ६७७ युवाहरु एमालेमा प्रवेश गरेको उल्लेख गर्दै नेता बस्नेतले जनताले एमालेबाट मुलुकको भविष्य खोजीरहेको बताउनुभयो । आजको पार्टी प्रवेश तथा पार्टीले देशव्यापी रुपमा चलाउने पार्टी प्रवेशको अभियानले आगामी निर्वाचनमा एमाले तराईका सवै जिल्लाहरुमा लालकिल्ला बन्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तराईका जिल्लाबाट सिङ्गो राजनीतिलाई हेरिरहँदा हरेक पहेलो धातु सु्न हुँदैन, सून भनेर झुक्याएर बेच्ने गरिन्छ तर त्यो सुन होकी होईन भन्ने कुरालाई छुट्याउन कसिमा लगाएर घोटेर छुट्याउनुपर्छ । कांग्रेस,माओवादी, जसपा लगायतका दलहरु सुन भन्दा कम छैन, हराएमा डर छैन भन्ने जस्तो मात्र हुन । जनताले राजनीतिक दलहरुलाई कसिमा घोट्ने भनेको जनताले हो । जुन कुरा बारा जिल्लाका युवाहरुले घोट्नुभएको छ । अब दल छनौट गर्ने कुरामा तराईका जनता योग्य हुनुहुन्छ ।’

कांग्रेस नेतृत्वको सरकार नुन हाल्न विर्षिएको तरकारी जस्तो भएको उल्लेख गर्दै नेता बस्नेतले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिमा ठिक्क नुनलगायतका कुराहरुको प्रयोग गरी स्वादिष्ट भोजन तयार हुने गरेको उल्लेख गर्नुभयो । एमालेले आफ्नो महाधिवेशनमा प्रविधिको प्रयोग गरी आधुनिक तरिकाले अगाडी बढेको उल्लेख गर्दै नेता बस्नेतले तराईका जनताले हाइटेक वला एमाले रोज्ने कि हिलटेक वाला कांग्रेस रोज्ने ? भनि प्रश्न गर्नुभयो ।

हिलटेकवाला कांग्रेस र माओवादी केन्द्र तराईका जनताको लागि मरेको सर्प जस्तै भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आगामी निर्वाचन पछि प्रचण्डको पार्टी मारेको सर्प जस्तै पुच्छर हल्लाउने पार्टी वन्नेछ । एमाले सरकार आए उद्योग खोलिन्छ भने कांग्रेस सरकारमा आए चलेका उद्योग वेचिन्छ ।’

एमालेको महाधिवेशनका देखेको जनसागरबाट सवै दल आत्तीएको उल्लेख गर्दै नेता बस्नेतले अन्य पार्टीहरुको महाधिवेशन लाजले गर्दा कोठामा सिमित भएको बताउनुभयो । केपी ओलीको नेतृत्वको सरकारका पालालमा मधेशका जनताको पक्षमा गरेको निर्णयले तराईका जनताको भाग्य र भविष्य निर्धारण गरेको उल्लेख गर्नुभयो । गरिव, भूमिहिनलगायतका जनतालाई जग्गाको मालिक बनाउने अभियान चलाएको स्मरण गराउँदै नेता बस्नेतले सडक, शिक्षा, स्वास्थ्य, सिँचाईलगायतका क्षेत्रहरुमा मधेशको विकासमा ऐतिहासिक परिवर्तन गरेको बताउनुभयो । एमालेको नेतृत्वको सरकारले राष्ट्रिय गौरवका योजनाका सार्थ साथै रोजगारीको क्षेत्रमा समेत व्यापक योजना अगाडी बढेको स्मरण गराउनुभयो । तराईमा एमालेले गरेको आमुल परिवर्तनकारी योजनाका कारण नै बैचारीक तथा व्यवहारिक रुपमा युवाहरुको आकर्षणको पार्टी एमाले भएको बताउनुभयो ।