राजनीति

नेकपा एमालेद्वारा प्रदेश २ को नाम ‘जानकी’ प्रस्ताव



जनकपुरधाम, ९ पौष । नेकपा एमालेले प्रदेश नं. २ का नाम जानकी प्रस्ताव गरेको छ ।

शुक्रबार प्रदेशसभा सचिवालयको आठौं अधिवेशनको तेस्रो बैठकमा नेकपा एमालेकी सांसद सारदा देवी थापाले प्रदेश २ नामकरणको लागि जानकी नाम प्रस्ताव गर्नुभयो । बिहीबारको बैठकमा नेकपा समाजादीले पनि जानकी नाम नै प्रस्ताव गरेको थियो ।

सांसद थापाले तत्कालीन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको हुनाले सोही नाम फेरी प्रस्ताव गरेको बताउनुभयो । महिलालाई पनि सम्मान हुने गरी जानकी नाम अगाडि सारेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तत्कालीन नेकपाबाट हामीले जानकी नामको प्रस्ताव दर्ता गराएका थियौं । अव पार्टी दुईवटा भयो । नेकपा एसले हिजो नै अगाडि बढाउँदा हामी केही समय अलमलमा पर्यौं । तर, अब हामीले पनि जानकी नाम नै प्रस्ताव गर्छौं ।”

बिहीबारको बैठकमा नामकरणको लागि चारवटा प्रस्ताव दर्ता भएको थियो । जसपा, लोसपा र माओवादी केन्द्रले मधेस नामको प्रस्ताव गरेका छन् भने कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव अगाडि बढाएका हुन् ।