राजनीति

एमालेको महाधिवेशनसँगै पार्टी भित्रको गुटबन्दी र अराजकता अन्त्य भयो : नेता बस्नेत



भक्तपुर, १० पुस । रमेश गिरी । नेकपा एमालेका पोलिटव्यूरो सदस्य, संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले एमालेको हालै सम्पन्न महाधिवेशनसँगै संगठन भित्रको अराजकताको अन्त्य भएको बताउनु भएको छ ।

आज एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको नेकपा एमालेको दशौँ महाधिवेशनको सन्देश सभा तथा भक्तपुरबाट केन्द्रीय पदाधिकारीहरुमा निर्वाचितलाई सम्मान कार्यक्रममा बोल्दै उहाँले अब एमालेमा कुनैपनि गुट उपगुट नरहेको बताउनु भएको हो । नेता बस्नेतले भन्नुभयो, “एमालेको चितवनमा सम्पन्न महाधिवेशनले संगठानात्मक रुपमा रहेको गुटबन्दी र अराजकताको अन्त्य गरिसकेको छ, महाधिवेशनले संगठनातमक रुपमा रहेको गुटको अबशेष पनि नराख्ने, संगठन भित्रको अराजकतालाई अन्त्य गर्ने सन्देश दिएको छ ।”

उहाँले समाजवाद प्राप्त गर्ने लक्ष्यलाई उत्पादनसँग जोडेर लैजानु पर्नेमा जोड दिदै कम्युनिष्ट भनेका गरिब हुनुपर्छ, ठूला घर बनाउनु हुदैन, गाडी चढेर हिडन हुदैन भन्ने पुरानो थेउरीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । १०० रुपैयाँमा बिक्री गर्ने एउटा बाँसबाट सामान बनाउन सके एक हजारमा बिक्री गर्न सकिन्छ, आफ्नै आँगनको उत्पादनलाई सीपसँग जोडेर लानु पर्नेमा जोड दिदै उहाँले भन्नुभयो, “युवाहरु उत्पादनको काममा लाग्ने, राज्यलाई कर तिर्ने, यहीँ रोजगारीको सृजना गर्ने, समाज विकास गर्दै लैजाने र उत्पादनसँग जोडेर समाजवादी स्थापना गर्न अब लाग्नु पर्छ, यसको सुरुवात युवा संघबाटै म हुँदा नै गराएको छु ।”

उहाँले एमाले बिरुद्ध दक्षिणपन्थी मोर्चाबन्दी बनेको छ भन्दै त्यसलाई चिर्दै एमाले अगाडि बढ्ने बताउनु भयो । सांसद एवं नेता बस्नेतले भन्नुभयो, “दक्षिणपन्थी मोर्चाबन्दीले प्रचण्डको उग्रवामपन्थीले आफ्नै सरकार ढालेर काँग्रेसका सभापतिको शेरबहादुर देउवाको पाउँमा चढाउन पुगे, संगठनभित्रको अराजकताले माधव नेपाललाई, झलनाथ खनाललाई कहाँ पुर्यायो ? आफ्नै पार्टीको सरकार ढालेर, देउवाको पाउँमा निहुरिएर सरकारमा सहभागि हुदैँ, अब चुनावसम्म गठबन्धन टिकाइदिनु पर्यो, चुनाव सारिदिनु पर्यो भनेर गुहार्न थाल्ेका छन्, यो जस्तो लाजमर्दो कुरा के होला र ?”

वाग्मति प्रदेश सरकारको बिस्तारले अहिलेको गठबन्धनले तमासा देखाएको टिप्पणी गर्दै उहाँले कोठै पिच्छे मन्त्रालय, झ्यालै पिच्छे बोर्डले यहाँको अर्थतन्त्रले थेग्न नसक्ने बताउनुभयो । एमाले युवा नेता बस्नेतले भन्नुभयो, “देउवा नेतृत्व गठबन्धन सरकार गठन भएको चार महिनामा देशलाई सात खर्ब ५० अर्ब व्यापार घाटा भएको छ, चालू आ.ब.मा ३० खर्ब व्यापार घाटा हुने प्रक्षेपण भइसकेको छ, अबको नेपालको अर्थतन्त्र समाप्त तर्फ जादैछ, जोड घटाऊ पनि नआउने अर्थमन्त्रीका कारण विकास ठप्प भएको छ ।”

एमाले सरकारमा रहदाँ पनि प्रतिपक्षमा रहदाँ पनि भक्तपुरमा विकासका आयोजनाहरुको शिलन्यास, उद्घाटन र विकासको काम नरोकिएको बताउदै एमालेले ल्याएको विकासलाई भक्तपुरको दुई वटै क्षेत्रमा कसैले रोक्न नसक्ने बताउनु भयो । पार्टीमा पद होइन भूमिका ठूलो हो भनेर अगाडि बढ्नु पर्छ भन्दै उहाँले भन्नुभयो, “मैले पाटीमा पद पाइन, टिकट पाइन भनेर म अब एमालेमा छैन भन्ने होइन, मैले पनि पाउँदा पाउँदैको पद छाड्नु पर्यो, तर पनि पार्टीमा निष्ठावान भएर भक्तपुरमा एमालेको संगठन, गतिबिधि, बिकास र क्षमताले इन्द्रको आसन हल्लाए झै हल्लाउन सक्ने अबस्थामा पार्टीलाई पुर्याएका छौँ, त्यो हाम्रो सफलता हो।”

उहाँले आगामी स्थानीय तहको निर्वाचनमा मैले टिकट पाइन भनेर कसैले गुनासो गर्न नपाउने बताउदै उहाँले भन्नुभयो, “नेतृत्वमा विकासका लागि जनताको मन जित्नु पर्छ, कार्यकर्ताको मन जित्नु पर्छ अनि नेताको थोरै विश्वास जित्नु पर्छ, यति भएन भने नेता बन्न सकिदैन, नेताको मन मौ जितेर, नेताको घरघरमा धाएर, आर्शिवादबाट नेता बनिन्छ भन्ने नसोच्नुस्, आगामी चुनावमा टिकट दिने बेलामा पार्टीले उच्च मूल्यांकन गर्छ नै, पार्टीले पत्याएर टिकट दिए आउने हो, पार्टीले मलाई पत्याएन भने, मैले पनि छाड्नु पर्छ, र पार्टीमा जसले टिकट पाए पनि जिताउन लाग्नु पर्छ ।”

आउदो चुनावमा रणनीतिक योजना बनाएर अगाडि बढ्ने बताउदै उहाँले अहिले जितेका सबै पालिकामा पुनः जित्ने र भक्तपुर नगरपालिकामा केही वडा जित्ने गरि पार्टीलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । एमाले पोलिट व्यूरो सदस्य एवं सांसद बस्नेतले भन्नुभयो, “अहिले एमालेले जितिरहेको सूर्यविनायक, चाँगुनारायण र मध्यपुर नगरपालिकालाई कुनै हालतमा जित्नु पर्छ, सूर्यविनायकमा अब काँग्रेस शून्य बनाउने हो, चाँगुनारायण र मध्यपुरमा काँग्रेसका लागि एक दुई वटा बिउँ रहला, भक्तपुर नगरपालिकाका धेरै नेमकिपा एमाले प्रवेश गराएका छौँ, त्यसैले यसवर्ष त्यहाँ खाता खोल्ने हो ।”

एक वर्ष पछि हुने प्रदेश र संघीय चुनावमा पनि २ नं. क्षेत्र संघीय र प्रदेशमा २ वटै तथा १ नं. क्षेत्रमा १ वटा प्रदेश र अर्को प्रदेश तथा १ नं.को संघीय चुनाबमा नेमकिपालाई हराउने लक्ष्य लिने नसके पनि आच्छु आच्छु पार्ने गरि अगाडि बढ्न उहाँले सबैलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरमा हामीले विकासको आँधी ल्याएका छौँ, जनताको तल्लो तहसम्म बिकासको सन्देश लिएर जाऔँ, किनकी अबको चुनाबमा क्षेत्र नं. १ मा प्रेम सुवालले ३१ हजार भोट ल्याएका हुन्, अब एमाले ३१ हजार भोट ल्याउने ताकतमा पुग्नु पर्छ, क्षेत्र नं. २ का काँग्रेसले १८ हजार भोट ल्याएको हो, त्यसलाई अब १२ हजारमा झार्नु पर्छ, एमालेले ५० हजार भोट नघाउनु पर्छ, अब भक्तपुरमा एमाले त्यो लक्ष्यका साथ अगाडि बढ्नु पर्छ ।”

कार्यक्रममा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, केन्द्रीय सदस्यहरु निर्मलकुमार भट्टराई, गोबिन्दप्रसाद दुलाल, केन्द्रीय अनुशासन कमिटिका सदस्य बिना बास्तोलाले महाधिवेशनले एमालेको दृष्टिकोण र रणनीतिक योजनालाई अगाडि बढाएको बताउदै दक्षिणपन्थीबाट घेराबन्दीमा पारिएको एमालेलाई शसक्त रुपमा लैजानुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा एमालेका जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सचिव वासुदेव थापालगायतले एमालेको भावी रणनीतिकाबारेमा प्काश पार्नु भएको थियो । कार्यक्रममा एमालेमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरिएको थियो ।