काठमाडौँ, १३ पौष । सरकारले काठमाडौँ उपत्यकासहित आठ जिल्लाका बालाबालिकाका लागि सञ्चालन गर्ने भनिएको कोभिड–१९ विरुद्धको फाइजर खोप कार्यक्रम तत्काललाई स्थगित गरेको छ ।
खोप दिनका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज प्राप्त नभएका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका ५७ जिल्लामा अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोर्डना खोप दिइँदै छ । उपत्यकाका तीनसहित काभ्रे चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा भने यो उमेर समूहका बालबालिकालाई फाइजरको खोप दिइने सरकारको तयारी थियो । तर, युनिसेफले उपलब्ध गराउनुपर्ने ५० लाख सिरिन्ज आइनपुगेपछि कार्यक्रम तत्काललाई स्थगित गरिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले ५० लाख सिरिन्ज केही दिनभित्रै आइपुग्ने भन्दै केही दिनका लागि मात्रै खोप कार्यक्रम ढिलो भएको बताए ।










प्रतिक्रिया दिनुहोस्