एजेन्सी, २९ पौष । विश्व स्वास्थ्य संगठन, डब्लूएचओका प्रमुखले सम्पूर्ण देशहरु मिलेर संक्रमण नियन्त्रणमा लाग्ने हो भने २०२२ मा कोभिड महामारी अन्त्य हुनेबारे आफू सकारात्मक रहेको बताएका छन् ।
साथै डाक्टर टेड्रोस अद्हानोमले सबै देशहरुलाई राष्ट्रियवादबाट माथि उठ्दै आफूले मात्र खोप राख्ने प्रवृत्ति विरुद्ध पनि बयान दिएका हुन् । महामारीको दुई वर्ष बितिसक्दा पनि दुनियाँभर कोभिडको लहर कायमै छ । हालसम्म विश्वमा २८ करोड ७० लाख यसबाट संक्रमित छन् भने ५५ लाख मानिसहरुको मृत्यु भइसकेको छ । यस्तोमा विश्वभरि नयाँ वर्षको उत्साह भएपनि यसलाई शान्त र सर्तकपूर्वक मनाइएको छ । अझैपनि कोरोना भाइरस हाम्रो दैनिक जीवनको अभिन्न हिस्साकै रुपमा जिवित छ र कतिपय ठाउँहरुमा बिना मास्क हिँड्नेबारे सोच्नै नसक्ने अवस्था छ ।
तापनि सुरुवातमा भन्दा विपरित अहिले कोभिडको उपचार गर्न धेरै टुल र माध्यमहरु रहेको टेड्रोसले सकारात्मक हुँदै बताए । तर अझैसम्म खोप वितरणमा असमानता कायमै रहनुले भाइरस थप विकसित भइरहने जोखिम रहेको उनले चेतावनी दिएका हुन् ।
उनले भने, “हामीले राष्ट्रियता र आफू मात्र सबै खोप हडप्ने प्रवृत्तिबाट माथि उठ्नुपर्छ । खोप असमानतालाई बेवास्ता गर्नाले नै ओमिक्रोन जस्ता भेरियेन्ट उत्पन्न भएका हुन् । त्यसैले जति लामो समयसम्म यस्तो असमानता रहन्छ भाइरसको रुप परिवर्तन हुने खतरा पनि उति नै बढ्दै जानेछ जसबारे हामीले कुनै भविष्यवाणी या बचाउ गर्न सक्नेछैनौँ । ” उनले अन्तयमा फेरि भने, “यदि हामीले यो असमानता हटाउने हो भने महामारी पनि स्वत अन्त्य हुनेछ । र यसै वर्ष सम्भव छ । ”
डाक्टर टेड्रोसले यसअघि पनि धनी मुलुकहरुलाई सबै खोप आफ्ना लागि राखेकामा आलोचना गर्दै आएका छन् । यसले विश्वव्यापी खोप आपूर्तिमा प्रभाव पारेको हुँदा कतै लगभग पूरै जनसङ्ख्याले खोप लगाइसकेको त कतै पहिलो डोजकै पर्खाइमा मानिसहरुको मृत्यु भइरहेको उनले बताएका थिए । विश्व स्वास्थ्य संगठनले अहिले महामारी अन्त्य गर्न नयाँ लक्ष्य राखेको छ जसमा आगामी जुलाइसम्म सबै राष्ट्रले आफ्ना ७० प्रतिशत जनतामा खोप लगाइसकेको हुनुपर्ने भनिएको छ । बीबीसी
प्रतिक्रिया दिनुहोस्