राजनीति

अत्यावश्यक नभई जोखिम मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध



काठमाडौँ, २९ पौष । अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।

विभागले सरकारको निर्णयअनुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले बुधवार एक सूचना जारी गरी अर्को व्यवस्था नभए सम्मका लागि सचेत हुने यसरी अनुरोध गरेको हो ।

ओमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ) बाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मङ्सिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ ।  विभागले तोकिएका ती नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ ।

पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्नेगरी अनुमति दिने विभागले जनाएको छ । ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट आएका यात्रुको हकमा मात्रै क्वारेनटिन र आइसोलेसनको व्यवस्था लागू हुने विभागले स्पष्ट पारेको छ ।