राजनीति

कमिलाले मुसालाई लतार्ने दुस्साहस नगरे हुन्छ : पूर्वमन्त्री बस्नेत



काठमाडौँ, १२ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पाँच दलीय गठबन्धनले एमालेलाई लतार्ने दुस्साहस नगर्न चेतावनी दिनुभएको छ ।

काठमाडौँमा मंगलवार आयोजित एक कार्यक्रम पछि पत्रकारसँग कुरा गर्दै उहाँले जनताबाट नेपालको सवैभन्दा ठूलो दलको रुपमा एमाले रहेको उल्लेख गर्दै एमालेलाई कमजोर बनाउन बनाइएको षड्यन्त्रकारी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकिकृत समाजवादी पार्टी र जनमोर्चासहितको अपवित्र गठबन्धनले एमालेलाई कमजोर बनाई मुलुकलाई अघोगतिमा लैजाने गतिविधि भइरहेको भन्दै आक्रोस जनाउनुभयो ।

एमालेलाई लतारे आइज भन्दा नआउने स्पष्ट पार्दै सभामुखले न्यायालयको जसरी फैसला गरेको आरोप उहाँले लगाउनुभयो । एमालेले कारवाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारवाही नगरेको साथै अन्य व्यक्तिहरुलाई सभामुखले तत्तकाल कारवाही गरी पक्षपातीपूर्ण कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनका पार्टीले एमालेलाई लतार्ने कुचेष्ठा गर्नु भनेको कमिलाले मुसालाई लतार्न खोजे जस्तो मात्र हुन्छ । गठबन्धन तथा सभामुखले एमालेलाई लतार्ने दुस्साहस नगरे हुन्छ ।’

उहाँले निर्वाचन आयोगले राप्रपालाई जस्तै गरी एमालेलाई चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने वारेमा पत्र काट्ने हिम्मन नगर्ने स्पष्ट पार्नुभयो । यदी काटेको खण्डमा मुलुक द्वन्द्व तथा आन्दोलनमा जाने तथा ठूलो भिडन्तमा जाने निश्चित रहेको उल्लेख गर्दै उहाँले उक्त कार्य भएमा देशभर आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी समेत दिनुभयो । उक्त कार्य गर्न गठबन्धन सरकारले निर्वाचन आयोगलाई सिफारिस नगर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

लोकतन्त्रलमा आवधिक निर्वाचन महत्वपूर्ण कुरा रहेको उललेख गर्दै नेता बस्नेतले निर्वाचन नगर्ने तर्फ गठबन्धन सरकार अगाडी बढिरहेको साथै संविधानलाई समेत गलत व्याख्या गरी व्यवस्थालाई नै समाप्त पार्ने तर्फ क्रियाशिल हुँदै गएको आरोप लगाउनुभयो । गठबन्धनको सरकारले अध्यादेश ल्याई २०७९ साल फागुनमा मात्र निर्वाचन गर्ने भन्दै संविधानको धारा २२५ को अपव्याख्या गरिरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनमा हार र जितको सामान्य प्रकृया हो । तर आफु हारिन्छ भन्ने डरको मानसिकताले समग्र पद्धति र प्रकृयालाई नै च्यालेन्ज गर्दै अन्य दल लोकप्रिय छ भनेर कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । ४० महिना केपी ओली नेतृत्वको सरकारले जनतामा आशा र उर्जा ल्याएको थियो । पछिल्लो ६ महिनामा गठबन्धन सरकारले जनताको आशा र उर्जालार्य निरासामा रुपान्तरण गरेको छ । मुलुक फेरी आन्दोलन गर्नुपर्ने, फेरी द्वन्द्व, असमझदारी हुने, कुशासन, अस्थिरता शुरु हुने अवस्था बन्दै गएको छ । जसले गर्दा मुलुक विकास र समृद्धिको यात्रामा नभई उधो गतिमा जाने गतिविधि भइरहेको छ । यो चिन्ताको विषय हो ।’

मुलुकलाई अगाडी बढाउन नयाँ निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै नेता बस्नेतले लोकतन्त्रलाई जोगाई राख्न संविधान अनुसार स्थानीय तह बैशाख भित्रमा नै सक्नु पर्ने साथै संसदीय निर्वाचन पनि जति सक्दो चाँडो सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । एमालेकै विरुद्ध निर्वाचन सार्ने, एमालेको चुनाव चिन्ह हटाउन र कमजोर बनाउने योजनाका साथ गठबन्धन सरकारले लागेकाले एमाले उक्त गठबन्धनको गतिविधिको साक्षि बस्न नजाने÷सर्वदलीय बैठकमा उपस्थित नहुने समेत उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेलाई कमजोर बनाउने गरिएको षड्यन्त्रकारी बैठकमा सहभागिता जनाउँदैन । मुलुकको हित विपरित परमादेशबाट बनको सरकारको साक्षि बन्न गठबन्धन सरकारले बोलाएको बैठकमा एमाले सहभागी हुँदैन । मलाई मार भन्दै गोरुको सिंगमा एमाले जाँदैन । उहाँहरुले साच्चिकै मुलुकलाई निकास दिई निर्वाचन गर्न चाहेको हो भने एमालेसँग प्रभावकारी र सशक्त वार्ता गरी समस्या समाधान गर्न जरुरी रहेको छ । जसको लागि एमाले जहिले पनि वार्ता तथा छलफल गर्न तयार रहेको छ । तर न्यायपालिका भित्र भद्रगोल, व्यवस्थापिका भित्र भद्रगोल, मुलुक भद्रगोलै भद्रगोल बनाई फोहोर पानीमा माछा मार्ने कार्य भइरहेको छ, त्यसमा एमाले लाचार छाँया बनेर जाँदैन ।’