राजनीति

स्थानीय तह निर्वाचनः कार्यतालिका बनाउँदै आयोग



काठमाडौँ, २६ माघ । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढाउँदै छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ९० दिनको छोटो समयलाई आयोगले तीव्र रूपमा सदुपयोग गर्दै फास्ट ट्र्याकबाट स्थानीय तह निर्वाचनको तयारी गरिरहेको जानकारी दिए ।‘आयोगले ९० दिनको समयलाई सकेसम्म बढीभन्दा बढी प्रभावकारी बनाउँदै निर्वाचनको तयारीलाई गति दिनेछ, मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिकासम्मको विषयमा धमाधम काम भइरहेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको र केही समयभित्रै कार्यतालिका प्रकाशित हुने जानकारी दिए । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रमसम्म ल्याइनेछ । कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, निर्वाचन चिह्न प्रदान, निर्वाचन समयदेखि मतगणनासम्मको कार्यक्रम समावेश हुन्छ । यो समाचार राजधानी दैनिकमा छ ।