Banner News

एमसीसीबारे सत्ता गठबन्धनको निर्णायक बैठक आज



काठमाडौँ, ५ फागुन । एमसीसीबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ ।

एमसीसी संसदमा पेश गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय आज अपरान्ह ३ बजे बस्ने गठबन्धन दलहरुको बैठकले गर्ने छ । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदमा अघि बढाउने विषयमा सत्ता गठबन्धनमा मतभेद चुलिएपछि प्रधानमन्त्री देउवा दबाबमा पर्नुभएको हो । प्रधानमन्त्री देउवा सत्तारुढ दलहरुकै घेरावन्दीमा पर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाउनुभएको हो ।

बुधबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले दलहरुबीच सहमति नगरी एमसीसी टेबल गर्न नहुने निर्णय गरेपछि प्रधानमन्त्री देउवा अप्ठेरोमा पर्नुभएको छ । माओवादी केन्द्रले दलीय सहमति बिना एमसीसी प्रस्ताव संसदमा लगे सरकारबाट बाहिरिने घोषणा समेत गरेकाले सत्ता गठबन्धन पनि विघटनको डिलमा पुगेको छ ।