राजनीति

प्रधानमन्त्रीले एमालेसँग ब्ल्यांक चेक मागिरनुभएको छः सचिव भट्टराई



काठमाडौँ, १२ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धन असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताउनुभएको छ ।

बिहिबार संसद बैठक अचानक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्रीले आफूहरूसँग ब्लाङ्क चेक मागिरहेको बताउनुभयो । एमालेका मागहरू यथावत रहेको भन्द माग पूरा नभए हामी सहयोग गर्न नसक्ने स्पष्ट पार्दै उहाँले हाम्रा माग पुरा नभएसम्म यसै भन्न नसकिने बताउनुभयो । अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रियरुपमा बेइज्जत गराएकोसमेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गुटमा संकट आए पार्टीमा थोपर्ने, पार्टीमा संकट आए गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट ठान्ने काम गरिएको छ । वास्तवमा यो गठबन्धनको सर्वथा असफलता हो । यसले मुलुकलाई अन्तर्राष्ट्रिय बेइज्जत गराएको छ ।’