Banner News

‘जहाँ नेपाली, त्यहाँ एमाले’ भइसक्यो : अध्यक्ष ओली



पोखरा, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणा भएपछि सत्ता गठबन्धनका नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार पोखरामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र जन दवावकै कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएपनि चुनाव हारिने डरले नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको उल्लेख गर्नुभयो । सरकारमा हुने पार्टीका नेता कार्यकर्ता एमालेले लिएको नीति र विचार सहि भएकै कारण एमाले प्रवेश गरिरहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले गठबन्धनका नाममा जनता अल्मल्याउने, छक्कयाउने काम गरिरहेको बताउनुभयो । प्रतिक्रियावादीहरुसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार बनाएर क्रान्ति गर्छौ भन्नेहरु कम्युनिस्ट हुन नसक्ने उल्लेख गर्दै उहाँले वास्तविक कम्युनिस्ट पार्टी हो एमालेमात्र भएको जहाँ नेपाली त्यहाँ एमाले भइसकेको दावी गर्नुभयो ।

गठबन्धनप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘निर्वाचनको मिति घोषणा भएपछि भोक लाग्न छोड्यो, निन्द्रा लाग्न छोड्यो । निर्वाचनको हिसाबकिताब गर्छन् अनेक खालका । धक्का, क्रमभंग, छलाङ, महाविपत्ति । यसले के के विकास गर्छ ? विकास गर्छ ? कसलाई धक्का ? कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार ढालिदियो, कम्युनिस्ट पार्टी फुटाइयो । गाउँमा मात्रै होइन, जहाँ नेपाली त्यहाँ एमाले । यो किन ? सुशासनयुक्त, विकासको बाटोमा देशलाई अघि बढाउन । नेपाललाई पछौटे देशबाट आधुनिक सम्मृद्ध र विकसित देश बनाउन ।’

एमालेको विचारले मात्रै देश बन्ने भन्दै अरु पार्टीसँग देश बनाउने विचार नै नभएको दावी गर्नुभयो । सत्ता गठबन्धनमा रहेका झलनाथ, डा।बाबुराम भट्टराई र काँग्रेसको नाम लिँदै उनले आफुलाई ढुंगा हानिएको बताउनुभयो । ‘एमालेले छिर्के लगाएर नभई दौडेर स्वर्ण पदक जित्ने दावी गर्नुभयो । ओलीले देश बनाउने कुरामा एमाले दृढ संकल्पित रहेको र देश बनाएर छोड्ने दावी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘दौडन कोही तयार छ भने एमाले दौडमा सामेल भएर, दौडमा अगाडि पुगेर दौडेर स्वर्णपदक जित्छ, छिर्के लगाएर लडाएर खोस्दैन । हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विचार छ अरु पार्टीसँग छैन । अरुलाई ढुंगा हानिँदैन तर म बाटामा हिँड्छु ढुंगा हान्छन् ।’