राजनीति

अध्यक्ष प्रचण्डलाई पदाधिकारी छान्न सकस



काठमाडौँ, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अध्यक्षबाहेक पदाधिकारी चयन हुन सकिरहेको छैन । शुक्रबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक एक दिन स्थगित गरेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयन गर्न नेताहरूसँग आन्तरिक छलफलमा लाग्नुभएको छ ।

एमसीसी सम्झौता संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएपछि नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट बन्दै आउनुभएको थियो । केन्द्रीय कमिटी बैठकमा श्रेष्ठले प्रचण्डको आलोचना गर्दै पार्टीभित्र आफ्नो असन्तुष्टि राख्नुभएको छ । श्रेष्ठको अभिव्यक्तिसँगै एमसीसीको विषयलाई लिएर पार्टीभित्र देखापरेको विवाद तत्कालका लागि समाधान भएको एक केन्द्रीय सदस्यले बताए ।जारी केन्द्रीय कमिटीको बैठकबाट प्रचण्डले पदाधिकारीको टुंगो लगाउन चाहनुभएको छ ।

पार्टीको महासचिवका लागि अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनले दाबी गर्नुभएको छ । सम्भवतः शर्मा र पुनमध्ये एक जना महासचिव बन्ने बताइएको छ । महाधिवेशनबाट पदाधिकारी चयन टुंगो लगाउने तयारी भए पनि पुनले आफू स्वास्थ्य उपचार गराएर स्वदेश फर्कन लागेको जानकारी गराएपछि बैठक स्थगित भएको थियो । त्यसलगत्तै कोभिड संक्रणण बढेको भन्दै माओवादीको बैठक अनिश्चित्कालका लागि स्थगित भएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।