Banner News

मन्त्री आलेको निर्देशनपछि क्यासिनोले धमाधम रोयल्टी बुझाउँदै



काठमाडौँ, २५ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ ।

हालसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिनुभयो । मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने सेन्टर मिडिया प्राली मिनिक्यासिनोले रु छ करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा कम्तीमा पनि रु ८७ करोड रकम जम्मा भएको हो । अझै उक्त प्रालिले दुई करोड ७० लाख ५० हजार बुझाउन बाँकी रहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिनुभयो । विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम जम्मा रकम कम्तीमा पनि रु ७५ करोड रहेको छ ।