राजनीति

सांसद बस्नेतद्वारा पर्यटकीय एवं ऐतिहासिक घ्याम्पो उद्घाटन



भक्तपुर, २८ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान परमादेशबाट बनेको पाँच दलीय सत्ता गठबन्धन दुई मुखे भएको उल्लेख गर्दै गठबन्धनमा चोर पनि आफै पुलिस पनि दुवै एउटै मान्छे भएको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित पर्यटकीय स्थान घ्याम्पे डाँडामा निर्माण भएको पाँच हजार लिटर पानी अट्ने पर्यटकीय एवं ऐतिहासिक घ्याम्पो शुक्रवार उद्घाटन गरिएको छ । त्यस ठाउँको नाम घ्याम्पे डाँडा भएपनि घ्याम्पो नुहँदा यसबारेमा आन्तरिक पर्यटकले चाँसो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको सांसद बस्नेतले उद्घाटन गर्नुभयो ।

आन्तरिक पर्यटकले चाँसो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेले गरेको विकासको विरोध गर्ने र जनताले त्यसको प्रतिकार गर्ने बुझेपछि पुनः उक्त विकास गर्नुपर्छ भन्दै माग गर्ने गठबन्धनका पार्टीको गतिविधिहरु भइरहेकाले गठबन्धनका दल दुई मुखे भएको दावी गर्नुभयो । भक्तपुरमा गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुले एमालेले गरेको विकासलाई अनावश्यक हल्ला फैलाई भ्रम पैदा गर्न खोजिरहेको प्रति सचेत हुन आग्रह गर्दै नेता बस्नेतले जनताले निषेध तथा सडकमा प्रदर्शन गर्ने संकेत पाएपछि गठबन्धनका दलहरुले एमालेले गरेको विकासलाई पुनः गर्नुपर्छ भन्दै हिड्ने गरेको बताउनुभयो । त्यस्तै एमसीसी चाँहिदैन भनेर सडकमा प्रहरीलाई ढुङगा हान्न लगाउने र सरकार तथा सदनमा एमसीसी चाहिन्छ भने हस्ताक्षर गर्ने दोहोरो प्रवृक्ति समेत गठबन्धनका नेताहरुमा रहेको उल्लेख गर्दै नेता बस्नेतले गठबन्धनका नेता तथा कार्यकर्ताहरुले जनतालाई भ्रम फैलाउने मात्र कामहरु गरिरहेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनका नेता तथा कार्यकर्ताहरु विकास गर्दैनौं, गर्न दिँदैनौं भन्दै हिड्छन् अनि जनता रिसाई, प्रवेश निषेध गर्छन् भनेर बुझेपछि विकास गर्छौं भन्दै आफै डेलिकेशन जान्छन् । त्यही भएर अहिलेको कांग्रेस दुई मुखे कांग्रेस हो । विगतमा एमालेको स्वभाव नै प्रतिपक्षी दल जस्तो मात्र आभास हुने गरेता पनि अहिले प्रतिपक्षमा नै भएता पनि सरकार जस्तो हुने गरेको छ । विकासमा बजेट ल्याएको छ, चारैतिर विकासको लहर छाएको छ । घ्याम्पेडाँडामा मात्र १५ करोडभन्दा बढी बजेट आएको छ । कांग्रेसको सरकार बनेपछि १५ हजार पनि बजेट थप हुन सकेको छैन । कांग्रेसको नेतृत्वमा सरकार बनेको ९ प्रगति शुन्य भएको छ, जनतामा नैरास्यता छाएको छ । एमसीसी चाँहिदैन भनेर सडकमा प्रहरीलाई ढुङ्गा हान्न लगाउने पनि उनीहरु नै र गठबन्धनभित्र तथा सदनमा एमसीसी चाहिन्छ भनेर खेल खेल्ने पनि उनिहरु नै हुन् । एमसीसी चाहिदैन भन्यो भने त एमालेले सखाप पार्ने रहेछ भनेर कराउने पनि उनिहरु नै हुन् । चोर पनि एउटै मान्छे, पुलिस पनि एउटै मान्छे हुन्छन् त ? अहिलेको गठबन्धन चोर पनि तिनिहरु नै हुन, पुलिस पनि तिनिहरु नै हुन् । गठबन्धनको गतिविधि देखेर जनताको आक्रोस सडकमा प्रस्तुत नहोस्, सडकमा प्रदर्शन भयो भने त्यसको जिम्मा सरकारको नै हुनेछ, हामीलाई दोष लगाउन पाउने छैन ।

उहाँले भक्तपुरको विकासमा यो पाँचवर्षे स्वर्णयुगको रुपमा रहेको चर्चा गर्दै विकट रुपमा रहेको यो क्षेत्र अहिले विकासले कायापलट भएको बताउनु भयो । भक्तपुरमा मात्रै आफ्नो पहलमा १५ अर्ब भन्दा बढी बजेट ल्याएर यहाँको विकासबाट मुहार फेरेको बताउदै उहाँले घ्याम्पे डाँडा, रानीकोट क्षेत्र मुख्य पर्यटकको आकर्षण बनेको बताउनु भयो । यस क्षेत्रमा अहिले करोडौ रकम लगानी गरेर होटलहरु सञ्चालनमा आएको, होटल व्यबसायमा अरबौ लगानी भएको, यहाँ जिप लाइनलगायतको सञ्चालनमा आइसकेको र अब प्याग्लाइडिङ, बन्जि जम्पलगायत पनि सुरु हुन लागेको बताउनु भयो । पर्यटकीय रुपमानै यहाँको जीवनस्थल उकासिने बताउदै उहाँले भक्तपुर विकासमा देशकै नमूना बनाउन सफल भएको बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने गरि नगरपालिकाले शिव सर्किट निर्माण गरेको बताउदै उहाँको पर्यटनको विकासमा ठूलो टेवा पुर्याएको बताउनु भयो । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक सडक, पूर्वाधारको विकासमा लागेको बताउनु भयो । नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायक नगरपालिकाको धार्मिक, पर्यटकीय विकास मात्रै नभई सडक, खानेपानी, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रको विकास गर्न सफल भएको बताउनु भयो ।

परापूर्वकालदेखि यसक्षेत्र घ्याम्पे डाँडाको नामबाट परिचित भएकाले यहाँकोे पहिचानलाई झल्काउन र यहाँको महत्वपूर्ण पर्यटकीय क्षेत्रमा अझै पर्यटकीय आकर्षण बढाउन घ्याम्पो निर्माण गरिएको वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो । सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को सिमानामा रहेको घ्याम्पे डाँडामा सूर्यविनायक नगरपालिकाको रु। २० लाखको बजेट वडा नं. ७ मार्फत विनियोजित गरि त्यसमा पाँच लाखको उपभोक्तामार्फत थप गरि कूल रु. २५ लाखको लागतमा घ्याम्पो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले हेर्दा निकै आकर्षक देखिने घ्याम्पो तलैदेखि फलामको डण्डी हालेर सिमेन्टबाट पक्की रुपमा २२ फिटको उचाईमा निर्माण गरिएको बताउदै यसको वरिपरि र तलैदेखि सिढी निर्माण गरेर बनाएको बताउनु भयो ।

वडा नं. ८ का वडाध्यक्ष किरण थापाले पाँच वर्ष अगाडिसम्म बिकट रहेको यस क्षेत्र जनप्रतिनिधि आएपछि संघीय, प्रदेश र नगरपालिकाको बजेटले यहाँको मुहार फेरिएको बताउदै भक्तपुरमा प्रमुख पर्यटकीय गन्तव्य बन्न सफल भएको बताउनु भयो । उपभोक्ता समितिको अध्यक्ष सविन तामाङले करिब १७ रोपनी जमिन सार्वजनिक जग्गा रहेको यस क्षेत्रकोे संरक्षणमा पनि स्थानीय लाग्ने बताउनु भयो । धेरै पहिला यस क्षेत्र स्थानीय ब्राह्रमण समुदायको कुस बिर्ताको नामबाट चर्चामा रहदै पुरानो छाप नाम रहेको यस ठाउँलाई २०२१ सालको नापी पछि चिहान डाँडाको नामबाट चिन्न थालेका थियो । २०३५ साल पछि भने यो डाँडाको नाम घ्याम्पे डाँडा रहन गएको स्थानीय बताउँछन् ।

धेरैवर्ष पहिला स्थानीय बटुवा, गोठालाहरुले गाईवस्तुलाई पानी खुहाउनका लागि जमिन मुनी घ्याम्पे गाडेर राखिएको र उक्त पानी आवश्यता अनुसार प्रयोग गर्ने गरिएको थियो । जमिन मुनी घ्याम्पोमा पानी राख्दा जाडोमा पानी तातो हुने र गर्मीमा चिसो हुने भएकाले पनि घ्याम्पोमा पानी राखी प्रयोगमा ल्याइएको जनविश्वास रहि आएको छ ।