भक्तपुर, ३० फागुन । नेकपा एमालेले आफ्नो संगठन विस्तारलाई आक्रामक रुपमा अगाडी बढाएको छ । एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतको गृह जिल्ला समेत रहेको भक्तपुरमा आगामी चुनाव केन्द्रीत भई एमालेले आफ्नो संगठन विस्तारलाई व्यापक बनाएको छ ।
यसै क्रममा एमालेले सूर्यविनायक नगरपालिका वडा नं. ८ मा मात्र २१ वटा टोल कमिटीहरु गठन गरेको छ । उक्त कमिटी गठन गरेसँगै वडामा अन्य पार्टीमा आस्था राख्ने जनताको समेत संख्या अत्याधिक न्युन बनेको छ । फागुन १४ गतेदेखी आशापुरी महादेवबाट नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्व मन्त्रीहरू एबं प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ्गको प्रमुख, पार्टी जिल्ला कमिटी अध्यक्ष बचन देउजा तथा उपाध्यक्ष एवं सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको विशेष उपस्थितिमा सुरुवात गरिएको टोल कमिटी गठन कार्यक्रम २९ गते २१ औं टोल कमिटी ठूलोगाउँ टोल कमिटी गठन गर्दै सम्पन्न भएको छ । नेकपा एमाले सूर्यविनायक नगर वडा नं ८ कमिटीले आफ्नो संगठन सुदृढीकरण र सशक्तिकरण गर्ने अभियान अन्तर्गत २१ वटा टोल कमिटी गठन गरेको छ । यो सँगै सूर्यविनायक नगरपालिका वडा नं ८ मा वडा अध्यक्षसहित चारै जना नगरसभा सदस्य तथा नगर प्रमुख र उपप्रमुख जितेको उक्त क्षेत्रमा नेकपा एमाले थप मजबुत हुँदै अघि बढेको छ ।
टोल कमिटी सफलताका साथ सम्पन्न भएकोमा बधाई तथा शुभकामना दिदै नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले विधानले दिएको सबैभन्दा तल्लो कमिटी, टोल कमिटीले संगठनलाई थप मजबूत बनाउने बताउनु भयो । भक्तपुरको ३८ वटै वडामा ५०० भन्दा बढि टोल कमिटी गठन गरिनेसमेत उहाँले जानकारी गराउनुभयो । यसरी नै प्रत्येक वडामा कमिटी विस्तार गरी एमालेमय बनाउने रणनीतिका साथ एमाले अगाडी बढिरहेको एमाले जिल्ला कमिटी सदस्य तथा वडाध्यक्ष किरण थापाले बताउनुभयो । एमाले युवाको भाग्य र भरोसाको मेरुदण्डमात्र नभई मुलुकको विकास र समृद्धिको मेरुदण्ड समेत भएकाले एमालेलाई जनप्रीय पार्टी बनाउने युवाको मुख्य जिम्मेवारी भएको दावी गर्नुभयो ।
वडाभरी टोल कमिटी गठन गर्दा ब्यापक सहभागिताबाट उत्साहित हुँदै नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं विपद व्यवस्थापन समिति प्रमुख तथा वडा नं ८ अध्यक्ष किरण थापाले नेकपा एमालेले अघि सारेको विकासको एजेण्डा जनताहरूले स्वीकार गरेको र आसन्न स्थानीय निर्वाचनमा खसेको मतको दुईतिहाई मत नेकपा एमालेले प्रतिनिधित्व गर्ने दावी गर्नुभयो ।
नेकपा एमाले सूनपा वडा नं ८ कमिटी अध्यक्ष धर्मराज बस्नेतले २१ वटै टोल कमिटीलाई थप सुस्त र दुरुस्त साथै चलायमान बनाने र चाँडै नै प्रशिक्षण कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । टोल कमिटीले नेकपा एमालेका सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्नुका साथै आगामी दिनमा स्थानीय विकासमा प्रत्यक्ष रुपमा पार्टी र जननिर्वाचित प्रतिनिधिहरुसंग जोडिने सेतुको रुपमा अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष एबं नेकपा एमाले सूर्यविनायक नगर कमिटी सदस्य पुष्पराज बस्नेतले एकता संक्रमणको बेला पार्टी कमिटी चलायमान नहुँदा जनप्रतिनिधिहरुले गरेका गतिविधिहरुसँग पार्टी र कार्यकर्ता जोडिन नसक्नु कमजोरी रहेको तर अब नेकपा एमाले थप सशक्त रुपमा अघि बढ्ने बताउनुभयो ।
टोल कमिटी गठन अभियानमा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरू किरण थापा, अजय तामाङ्ग, प्रेम कार्की, रामेश्वोर बोहरा, नगर कमिटी सदस्यहरू हरिशरण बस्नेत, बद्रि भट्टराई, राकेश थापा, आत्माराम थापा,पुष्पराज बस्नेत, तारा खड्का, सरोज बस्नेत, ठूलोकान्छा तामाङ्ग, सावित्री मिश्र, शर्मिला गीरी, वडा कमिटी अध्यक्ष धर्मराज बस्नेत, उपाध्यक्ष हेम सापकोटा, सचिव राजेश गीरी उपसचिव बिना बस्नेत तथा हरिसचन्द्र थापा लगायत पार्टी तथा भातृ संगठनका विभिन्न तप्काका नेता कार्यकर्ताको व्यापक उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्