राजनीति

मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, ७ चैत । मन्त्रिपरिषद्को बैठकको १० वटा निर्णय सार्वजनिक भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज सार्वजनिक गरेका हुन ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु:

१. सरकारले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा, हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ ।

२. नेपाल पारवान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड महाप्रबन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

३. सरकारले विद्युत नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंगोललाई नियुक्त गरेको छ ।

४. सरकारले हाइलेज एक्सपोर्ट फर्म नेपाल टु चाइनासम्बन्धी समझदारी पत्रमा नेपालको तर्फबाट चिनियाँ समकक्षी अनुसारको तहबाट हस्ताक्षर गर्ने व्यवस्था मिलाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ ।

५. खानेपानी मन्त्रालय र अन्तर्गत निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।

६. प्रहरी दशौं संशोधन नियमावली २०७८ स्वीकृत दिने निर्णय गरेको छ ।

७. सरकारले ५ औं विमस्टेक शिखर सम्मेलनमा विमस्टेक बडापत्रलगायत अन्य दस्ताबेजहरूमा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने, श्रीलंकाको कोलम्बोमा चैत १६ मा आयोजना हुने विमस्टेक सदस्य राष्ट्रहरूको ५ औं शिखर सम्मेलनमा प्रधानमन्त्रीलाई भर्चुअल रूपमा सहभागिता जनाउन र विमस्टेक मन्त्रिस्तरीय बैठक र विमस्टेक परराष्ट्र सचिव वरिष्ठ पदाधिकारीहरूको कार्यमा क्रमशः परराष्ट्रमन्त्री तथा परराष्ट्रसचिव स्तरीय प्रतिनिधि मण्डलले भौतिक रूपमा सहभागी जनाउन नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि गरेको छ ।

८. सरकारले आगामी २०७९ जेठ १९ गतेदेखि २० गतेसम्म स्वीडेनको स्टक होममा हुने एलडिसी इन्गेजमेन्ट स्ट्राटेजी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री रामशाहप्रसाद यादव र सचिव डा. प्रेम नारायण कँडेललाई स्वीकृत दिने भएको छ ।

९. चैत १४ गते दुबईको एट्लान्टिस द पार्ममा हुने हाई लेभल सेग्मेन्ट अफ द मिडिल स्टिल अफ द अफ्रिका क्लाइमेट विक २०२२ एमइएनएसीडब्ल्यूसम्बन्धी कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री रामशाहप्रसाद यादवलाई स्वीकृत दिने, चैत १० देखि १३ सम्म भारतको हैदरावादमा आयोजना हुने विङ्स इण्डिया २०२२ नामक कार्यक्रम र चैत ११ गते आयोजना हुने मिनेस्टिरियल क्लिनरी सेसनमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने निर्णय गरेको छ ।

१०. सरकारले पाथिभरा क्षेत्र विकास कोषको अध्यक्षमा रक्की थेबेलाई तोक्ने, साविक विराटनगर नगर विकास समितिको क्षेत्र संशोधन गरी हालको विराटनगर महानगरपालिकाको ४ किल्लाभित्र सीमित रहनेगरी नगर विकास ऐन २०४५ को दफा ४ बमोजिम विराटनगर नगरविकास समिति गठन गर्ने, कैलालीको धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र निर्माणको कार्य अघि बढाउन स्वीकृत दिने निर्णय गरेको छ ।