काठमाडौँ, १३ चैत । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना छिटो अघि बढाउनेसहित नेपाल सरोकारका आधा दर्जन विषयमा चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीसँगको छलफलमा उठाएका छन् ।
होटल म्यारिएटमा भएको भेटमा अध्यक्ष ओलीले परियोजनाहरुलाई चाँडो अघि बढाउन आवश्यक रहेको बताएका छन् । त्यसैगरी विभिन्न कारणले परियोजनाहरुले गति लिन नसकेको अवस्थामा खासगरी बीआरआई अन्तर्गतको परियोजना छिटोभन्दा छिटो अघि बढाउने विषयमा पनि ध्यानाकर्षण गराएको थियो ।
भेटमा अध्यक्ष ओलीले बन्द रहेका नाकाहरु खोल्न, कोरोनाका कारण बीचमै अध्ययन छाडेर नेपाल फर्किएका विद्यार्थीहरुले अध्ययन पूरा गर्ने वातावरण बनाउन, हुम्लाको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई फर्किने वातावरण बनाउन, कोरोला नाकामा भौतिक पूर्वाधार विकास, कोभिडको नियन्त्रणका लागि सहयोग विषयमा छलफल गरेका थिए । अध्यक्ष ओलीले अहिले नेपालीले भोगिरहेका समस्याका विषयमा पनि चिनियाँ विदेशमन्त्रीसँग आग्रह गरेका छन् । त्यसैगरी कोरोनाका कारण हुम्ला सीमा क्षेत्रमा रोकिएका नेपालीहरु स्वदेश फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् । त्यसैगरी मुस्ताङको कोरोला नाकामा नेपालतर्फको संरचना निर्माणमा पनि चिनियाँ सहयोग हुनुपर्नेमा ओलीको जोड रहेको थियो ।
प्रतिउत्तरमा चिनियाँ विदेशमन्त्री वाङले सबै विषयलाई सकारात्मक रुपमा लिएको र सामाधान लागि प्रयास जारी रहने जानकारी गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्