Banner News

महामारी र विपद् सामना गर्न संयुक्त तयारी गरौं : प्रधानमन्त्री



काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरू समस्यामा परेको भन्दै आगामी दिनमा यस्ता महामारी र विपद्को सामना गर्न संयुक्त रुपमा तयारी गर्नुपर्ने बताएका छन् ।

आज श्रीलंकाको कोलम्बोमा भइरहेको पाँचौं बिमस्टेक समिटमा काठमाडौंबाट भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट अझ राम्रोसँग पुन:स्थापना गर्न र भविष्यमा कुनै प्रकोप र विपद्बाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रका लाखौं नागरिकले ज्यान गुमाएका, गरिबी र बेरोजगारीको समस्या देखिएको भन्दै देउवाले महामारीबाट पुनर्स्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए ।

देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । उनले भने, “गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्छ ।”

यसैगरी, उनले जलवायु परिवर्तनको सम्बन्धमा कडा कदम चाल्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तनको संकटले हिमाल र समुद्रबीचको जैविक सम्पर्कमा असर गरिरहेको भन्दै प्रधानमन्त्री देउवाले फर्कन नसक्ने गरी आउने संकटभन्दा पहिले नै कडा कदम चाल्नुपर्ने बताए ।