काठमाडौँ, १९ चैत । भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्।
दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह गरिएको जनकारी दिए। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले दिल्लीमा शनिवार भेटवार्ता गरेपछि दुवैजनाले संयुक्त रूपमा प्रेस सम्मेलन गरेका थिए। मोदीले नेपाल र भारतबीच अनादीकालदेखि कायम मित्रताको चर्चा गर्दै दुवै एकअर्काको सुखदुखको साथी रहेको बताएका थिए। तर मोदीले आफ्नो वक्तव्यक्रममा नेपाल भारतबीच सीमा समस्याबारे कुनै उल्लेख गरेनन्। दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ।
दुवैजनाले संयुक्त रूपमा अन्तरदेशीय जयनगर-कुर्था रेल सेवा उद्घाटन भर्च्युअल माध्यमबाट गरेका थिए। कार्यक्रममा नेपाल र भारतबीच भएका विकास आयोजनाहरूबारे चर्चा गरिएको थियो।
त्यससँगै पूर्वधार तयार भएर पनि सञ्चालन नभइ बसेको उक्त रेलले सेवा उपलब्ध गराउन थालेको बताइएको छ। पाँचौ पटक प्रधानमन्त्री चुनिएपछि जलवायु परिवर्तन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ग्लास्गो गएको बेला देउवा र मोदीबीच गएको नोभेम्बरमा भेटवार्ता भएको थियो। यसअघिको आफ्नो चार वटा कार्यकालमा पनि देउवाले प्रधानमन्त्रीका रूपमा हरेक पटक दिल्लीको भ्रमण गरेका थिए।
देउवालाई विशेष मित्रका रूपमा स्वागत
नयाँ दिल्लीले ‘विशेष मित्रलाई न्यानो स्वागत’ गरिएको भन्दै देउवाको यो भ्रमणका बारेमा एउटा ट्विट गरेको थियो। प्रधानमन्त्री देउवा र उनी नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रवार साँझ भारतीय सत्तारूढ दलको पार्टी कार्यालयको भ्रमण गरेका थिए। त्यो कूटनीतिक मर्यादा विपरीत भएको भन्दै कतिपयले आलोचना गरिरहेका छन्।
तर नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महत भन्छन्, “भारतीय जनता पार्टी त्यहाँको सत्तारूढ पार्टी हो। उहाँहरूले हामीलाई निम्तो गर्नुभयो। त्यहाँ जाँदा केही बिग्रँदैन। यसअघि नेपाली कांग्रेसकै कतिपय नेताहरूले कतिपय वामपन्थी दलहरूले चिनियाँ कम्युनिस्ट पार्टीसँग अघि बढाएको वैचारिक आदानप्रदानप्रति प्रश्न उठाउने गरेका थिए। शुक्रवार भारतीय विदेशमन्त्री एस जय शङ्करले प्रधानमन्त्री देउवालाई भेटेका थिए।
भारतीय विदेशमन्त्री एस जय शङ्करले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुसी लागेको छ। यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु।” राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलको भ्रमण गरेका प्रधानमन्त्री देउवालाई भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले शनिवार भेटेका छन्।
अर्थपूर्ण यात्रा
कालापानी, लिपुलेक अनि लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो। भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कूटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिएन्। त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ। भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेको छ। यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु।
बीबीसीसँग कुरा गर्दै एक जना नेपाल विज्ञ निहार नायकले प्रधानमन्त्री देउवाको यो भ्रमणमा दुवै देशका अधिकारीहरूले सीमा सम्बन्धी विवादहरूको हल खोज्न दुवै देशका सम्बन्धित निकायहरूलाई निर्देशन दिनसक्ने बताएका थिए। अघिल्लो महिना मात्रै नेपालले हालसम्मकै ठूलो विदेशी सहयोग स्वीकार गर्ने क्रममा ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गरेको थियो। नेपालमा दलहरूबीच विवाद निम्त्याएको उक्त सम्झौतालाई लिएर अमेरिका र चीन एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका थिए।
एमसीसी सम्झौता अनुमोदन भएको केही सातापछि नयाँ दिल्लीहुँदै काठमाण्डूको भ्रमण गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा कुनै पनि किसिमको वैदेशिक हस्तक्षेप अस्वीकार्य हुने धारणा राखेका थिए। नेपालमा भूराजनीतिक चासोहरू वृद्धि भइरहेको समयमा भइरहेको प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। बीबीसी










प्रतिक्रिया दिनुहोस्