समाचार

रमजान पर्व मनाइँदै



काठमाडौँ, २१ चैत । मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आइतबारबाट सुरु भएको छ ।

रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरवातसँगै आइतबार पहिलो रोजा (ब्रत) अधिकांस मुस्लिमहरु बसे । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । टो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो ।